Sunday, February 16, 2014

नोस्टाल्जिया भावना

                                                                                                                                 
शिक्षक आइनसकेकाले कक्षा कोठामा निकै हल्ला थियो । सबै आ–आफ्नै तालमा मस्त थिए । म घरि–घरि उनी बस्ने बेन्चमा दृष्टि पु¥याउँथे । उनी अर्थात् भावना, जसलाई मेरा आँखाहरु एकतमासले खोजिरहेका थिए । ‘उनी आज किन स्कूल आइनन् ?’ एक प्रकारको बैचेनी थियो । प्रश्नहरु मनभित्र तँछाडमछाड गरिरहेका थिए । ‘कतै मेरै कारणले पो उनी आज स्कूल नआएकी हुन् कि ?’ मष्तिष्कले सही उत्तर पाउन सकिरहेको थिएन । 
पहिलो कक्षामा कहिले–काहीँ शिक्षक आउन ढिला हुन्छ । अघिल्लो दिन त्यस्तै भएको थियो । मैले उनको नोटमा आफ्ना केही कुरा लेखेको चिर्कटो छिराइदिएँ । लामो समयको सामिप्यतापछि मैले निकै हिम्मत जुटाएर त्यो कार्य गरेँ । एक किसिमको तनाव भयो, उनको प्रतिक्रिया कस्तो होला भनेर । तर आज उनी कक्षामा अनुपस्थित भएपछि शंकाको आयतन अस्वाभाविकरुपमा बढ्यो । कक्षा सुरु भयो । उनी आउने छाँट देखिएन । म मौन, ब्ल्याक–बोर्डतिर दृष्टि लगाएर बसेँ । शिक्षकले पढाएको दिमागमा केही घुसिरहेको थिएन । साइलेन्स फिल्म हेरेझै मुख चलाएको मात्र देख्ते । ब्ल्याक–बोर्डका अक्षरहरु अनियन्त्रित यताउता हल्लिरहेझै लाग्थ्यो । मृगतृष्णासरि म काल्पनिक संसारमा हराइरहेको थिएँ । ‘मे आई कमइन सर !’ कसैको आवाजले एकाएक मेरो कल्पनाशीलता भंग भयो । विद्युतीय शैलीमा आँखा कक्षाकोठाको प्रवेशद्वारतिर गयो । त्यहाँ मनले सर्बाधिक खोजी गरिएकी भावना उभिएकी थिई । उनको मुहारमा सधैंझै कान्ति छरिएको थियो । अनुहारमा कुनै तनावका रेखा थिएनन् । केही राहत महसुस गरेँ । सरले ‘एस’ भनेपछि बिरालो चालमा कक्षामा पसिन् र बेन्चमा बसिन् । किताब पल्टाएर मतिर दृष्टि फ्याँक्दै मुस्काइन् । उनको एक मुस्कानले मेरा सारा तनावलाई स्फूर्तिमा बदलिदियो । प्रतिउत्तरमा म पनि मुस्काइदिएँ । 
‘अंकल जाने होइन ?’ बाइकको पछाडि भतिजो आएर चढेको चालै पाइनँ । उसले जाउँ भनेपछि मात्र झसंग भएँ । रमाइलोको जनसेवा उच्चमावि अगाडि बाइक रोकेर म फ्लासब्याकमा गएछुँ । करिब दुई दशकअघिको विद्यालय जीवनको एउटा भुल्न नसकेको अंशमा म हराएँछु । बसाइ सरेर विराटनगर गएपछि निकै लामो समयपछि म भतिजोलाई लिएर रमाइलो पुगेको थिएँ । मामा, ठूलीआमा अनि मेरा धेरै साथीहरुको घर रमाइलोमै छन् । त्यसैले म त्यहाँ पुग्दा अतितका मीठा अनि तीता पलसँग साक्षात्कार हुन पुग्छु । 
बाइकमा हामी दुवै कानेपोखरीलाई लक्षित गर्दै हुइँकियौं । कालोपत्रे बनाउन चौडा बनाइएको सडकमा बेतमासले धुलो उडाउँदै हामी आइतबारे पुग्यौं । एउटा घर जहाँ भावनासँग भेट भएको थियो, त्यहीँ भावना पुनः देखिन्छिन् भन्ने भ्रम पैदा भयो । भतिजोले चाल नपाउने गरी बाइकको गति धिमा बनाएँ । त्यो घरमा मेरो दृष्टि निकैबेर रह्यो । तर सुनसान घरमा भावना मात्र होइन कुनै मानवआकृतिको छायासमेत देखिएन । मनले मानेन । कतै भावनाले गाडी रोक्ने इशारा गर्दै हात पो हल्लाउने हुन् कि ! घर क्रस गरेपछि पनि अदृश्य नहुन्जेल आँखाहरु लुकिङ ग्लासमा गडिरहे । उनी त्यहाँ भएको भ्रममात्रै बाँकी थियोे । बिस्तारै बाइकले गति लियो । 
म भावनालाई अन्तरहृदयबाट नै मन पराउँथे । ऊ पनि म भनेपछि मरिहत्ते गर्थी । तर त्यसबेलाको समय अहिलेको जस्तो खुल्मखुल्ला र प्राविधिकरुपमा सबल बनिसकेको थिएन । तत्कालै प्रेम प्रस्ताव राखिहाल्ने हतारो गर्नु निकै जोखिम र खतरा मोल्नुसरह हुन्थ्यो । किनकि त्यस्ता प्रस्तावको अस्वीकार गर्ने तौरतरिका निकै घातकखालका थिए । केटीले स्यान्डिलले हिर्काउने, सरलाई भनिदिने, दाइ लगाएर कुटाउने र सबैको अगाडि बेइज्जत हुने डर हुन्थ्यो । बोलचाल हुनेबित्तिकै प्रेम भइहाल्छ भन्ने पनि होइन । त्यतिबेलाको प्रेम केवल मनको मनसँग हुन्थ्यो । वासना वा शरीरसँग हुँदैनथ्यो । 
‘तिमी किन हिजो स्कूल नआएको ?’ मोतीजस्ता दन्तलहर खोलेर मुस्कुराउँदै उनले सोधिन् । मलाई मात्र होइन मेरो अनुपस्थितिले उनलाई पनि कौतुहलता पैदा भएछ । मैले घरमा काम भएकाले नआएको बताएपछि उनले स्कूल बाहिरको चटपटे पसलमा चटपटे खाने अफर गरिन् । कहिले–काहीँ म उनीभन्दा पनि बढी लजाउँथे । मेरो लजालु स्वाभावलाई ख्याल गरेर उनी मौका मिल्दामात्र कुरा गर्थिन् । दुवैले एक–अर्कालाई केयर गथ्र्यौं । मैले धेरैपटक अर्की साथी मैनाबाट उनले मलाई मन पराएको सुनेको थिएँ । जीवनका धेरै योजनाहरु मसँग जोडेर बनाएकी थिइन् रे । तर मैले कहिल्यै उनलाई खुलेर माया गर्छु भनिनँ । त्यतिबेला त्यो उमेरको अपरिपक्वता थियो या अनुशासनको पालना मलाई थाहा छैन । तर टिनएजमा भर्खरै प्रवेश गरेको बेलाको पहिलो प्रेमानुभूति थियो । जीवनको पहिलो प्रेमको अनुभूति कहिल्यै नमेटिने छाप बनेर हृदयमा बसिरहन्छ । अनि मौका पाउन साथ त्यसले मानिसलाई अतिततिर घोत्ल्याइदिन्छ । 
मैले स्कूल छुट्टी भएपछि एक साँझ घर फिर्दै गर्दा भावनालाई भनेँ, ‘भावना म स्कूल छाड्दैछु ।’ मेरो बाक्यले उनी झस्किन् । अनि तुरुन्तै सोधिन, ‘किन के भयो र ?’ उनका मुहारमा बिस्तारै कालो बादल मडारिन थालेको प्रष्ट देखेँ । मैले ‘बाबाको सरुवा भएको र सधैंका लागि रमाइलो छाडेर जान लागेको’ बताउँदा उनका आँखा रसाए । उनका अस्रुमिश्रित आँखाले धेरै कुरा भन्न खोजिरहेको भए पनि उनका ओठहरुले साथ दिइरहेका थिएनन् । सायद उनी भन्न चाहेर पनि केही कुरा भन्न सकिरहेकी थिइनन् । एक–अर्कालाई कहिल्यै नभुल्ने र चिठ्ठी लेख्ने वाचा गर्दै हामी छुट्टियौ । उनी कालीकोसी तरेर जहदातिर लागिन् । म मौन उभिएर निकै बेरसम्म हेरिरहेँ । घरि–घरि उनले मलाई फर्कदै हेर्ने गर्थिन् । जब उनी क्षितिजमा हराएर गइन् गह्रुँगो पाइला चाल्दै म घर फर्किएँ । त्यसपछि स्कूल गइन् । केही दिनपछि नै रमाइलो छाडेर विराटनगर बसाइ स¥र्यौं । त्यसपछि मैले भावनालाई कहिलै भेट्ने मौका पाएको छैन । उनीसँगको सामिप्यता व्यक्त गर्न नसकेको प्रेमको रुपमा मेरो मानसपटलको एउटा कुनामा अहिले पनि ताजै छ । 

Friday, March 8, 2013

लघुकथाः ब्ल्याकवेरी

-वेदराज पौडेल

'विवेक तिमीले किन्दिन्छु भनेको ब्ल्याकवेरी मोवाइल खै त, दुइ महिना भइसक्यो किन नकिनीदेको ?' प्रर्दशनी मार्गको पेटीमा हिड्दै गर्दा सुनिले सोधेकी थिइ विवेकलाई । सोलीबाट झिकेको बदाम फुटाउदै केही क्षण मौन भएर बोल्यो विवेक'पख न केही दिन मैले विदेशबाट आउने साथीलाई मगाएको छु । उ आउन ढिला भएर मात्र हो ।' ओठ लेप्राउदै बदामका खोस्टा सडक तिर मिल्काउदै सुनी बोली'तिमीले कहिले पनि मलाई भनेको बेलामा केही गरिदिएका छैन ।' 'प्रमिस यो पटक त्यस्तो हुन्न' निरिह देखिएको विवेकले घाँटी छोएर कसम खायो । राजधानीको केही दिनको बसाइ पछि उ आफ्नो गाउ फिर्‍यो । केही दिन पछि सुनिलाई विवेकले फोन गर्‍यो फोन उठेन । पटक पटक फोन र सयौं म्यासेज गर्‍र्यो तर पनि कुनैको उत्तर आएन । आजीत भएको विवेकले ल्याण्ड लाईनबाट फोन गर्‍यो सुनिलाई तर सुनिको साटो अर्कै पुरुष आवाज बाल्यो तर सुनि बोलीन । लामो समयको प्रेमका विचमा एकाएक आएको परिवर्तनलाई आत्मसात गर्न सकेन विवेकले । उस्को अधैर्यताले सीमा नाध्यो । उस्ले एक दिन फेरि फोन गर्‍र्यो । फोन उठ्यो । सुनि तिमी किन बद्लिएकी, तिमीले मेरो फोन किन नउठाको - एसएमएसको पनि कुनै जवाफ आएन- विवेकको उकुसमुकुसतालाई सुनिले शान्त पार्न कोसिस गरि तर विवेकले सन्तोष गर्ने ठाउँ नै पाएन । सुनिले भनि'म एउटा जटिल अवस्थामा छु मलाई फोन नगर्नु ।' फोन काटियो । जटिल अवस्थामा हुदा पनि मलाई सुनिले कस्तो जटिलता हो किन भन्न चाहिन । प्रश्नै प्रश्न भित्र रुमल्ली रह्यो विवेक । केएफसीमा पिज्जाको टुक्रो मुखमा हाल्दै सुनि बोली-'सरी राकेश, अँ..साची हाम्रो पोखराको डेटिङको फोटो हेर त यो मोबाइलमा..'ब्ल्याकबेरी मोवाइलको ग्यालेरीमा राकेशलाई फोटो देखाउन थालि सुनि । राकेशले सुनिलाई भन्दै थियो'सुनि यो ब्ल्याकबेरीको लेटेस भर्सन हो ।' तिमीले यसमा कुनै नम्बरलाई नआउने बनाउन सक्छ्यौं । अथार्त तिमीले नचाहेको मान्छेको इनकमिङ ब्लक गर्न सकिन्छ यसमा । सुनिले विस्तारै एउटा नम्बर ब्लक गरि । यता विवेकलाई असह्य भयो । उस्ले फेरि फोन गर्‍यो सुनिलाई । उता आवाज आयो 'तपाई यो नम्बरमा सर्म्पर्क गर्न सक्नु हुन्न ।'
२०६९/११/२६
विराटनगर

Friday, August 3, 2012

लघुकथा : केन्द्रियता


लघुकथा : केन्द्रियता
'अरे विवेक तिमी -' पानीको बोतल दिदै गरेकी साहुनीको संवादले म झस्कीए । मैले उनको मुहारमा परिचित रेखाहरु नियाल्न थाले । अनायसै मुखबाट निस्कीयो 'सुनि तिमी' करिब १० बर्षपछि भेटीएको एउटा परिचित साथी । मानसपटलमा विगतका दृष्यहरु नाच्न थाले । म ठिङ्ग मुग्लिनको एउटा पसलमा अघि गाडीएको पोल झै खडाछु । 
'अनि तिमी यहाँ पसलमा....' उस्ले विचमै भनि 'यो पसल हाम्रै हो, यहि तल घर छ । उहा बिजनेस गर्नुहुन्छ ।' मेरो मुहारमा उब्जेका धेरै प्रश्नवाचक चिन्हहरुको जवाफ उस्लै एकै पटक दिन सम्भव थिएन । अलि गाह्रो माने जस्तो गरेपछि अरु धेरै सोधखोज गरिन । पोखराबाट राजधानी हिडेको र  हायात होटलमा एउटा रात्री मिटिङमा सहभागि हुनु पर्ने उनलाई सुनाए । उनको नम्बर लिएर फोन गर्ने बाचा सहित म गाडी चढे ।
जिल्ला अधिवेशनको रन्को । पार्टीका जिल्ला नेतादेखी केन्द्रिय तहका नेताहरुसम्मको चासो मोरङमा केन्द्रित थियो । उपाध्यक्षबाट अध्यक्षको पदको दावेदार म । तर माउ पार्टीका जिल्लाका केही नेताहरु सुनिलाई अध्यक्षको उम्मेदवार बनाउने पक्षमा देखिए । मैले सुनिलाई सचिवमा रहेर काम गरेको मान्छे एक पटक उपाध्यक्ष चलाउ भनेको पनि थिए ।
    मेरो साथीहरु पनि मेरो पक्षमा राम्रै लवि गरिरहेका थिए । अधिवेशन सुरु हुन एक घण्टा बाकी थियो । राजनीतिमा पहिले आफू अनि अरुथोक भन्ने मूल मन्त्रलाई मनन गर्दै म बन्दसत्रका प्रमुख अतिथि बसेको होटलमा केही ऐजेण्डाका बारेमा छलफल गर्न पुगे । ११२ नम्बर कोठामा गएर मैले खोल्ने संकेत गरे तर ढोका खुलेन । चाविको प्वालबाट मैले भित्र चिहाए । एउटा ब्राउन कलरको लेडीज ब्याग तल झरेर सामान बाहिर निस्कीएको अवस्थामा थियो । ब्यागबाट पिंक कलरको लिपिष्टिक सोफा तल झरेको थियो । त्यो भन्दा परतिरका दृष्य ठम्याउन सकिएनन् ।
बन्दसत्र सुरु भयो । प्रमुख अतिथिले भातृ संगठनलाई सशक्त बनाउने र गुट उपगुटको अन्त्य गर्ने घोषणा गरे । केही बेरपछि माउ पार्टीले जनवादी केन्द्रियतालागु गर्दै जिल्ला कमीटीको नयाँ कार्य समितिको नाम घोषणा गर्‍यो । म हलबाट बाहिरिए । कलिलै उमेरमा अध्यक्ष जस्तो गरिमामय पदमा पुगेकोमा साथीहरुले घेराहालेर सुनिलाई बधाई दिदै थिए । पिंक कलरको लिपिस्टिक पोतिएका उस्का ओठहरुले साथीहरुलाई हार्दिकता प्रकट गरिरहेका थिए । उस्ले घरिघरि ब्राउन कलरको आफ्नो ब्यागलाई काँधमा सम्हादै थिई ।
गुडीरहेको गाडीको एक्कासी लागेको ब्रेकले म झस्कीए । ड्राइभरले भन्यो सर नाकढुंगामा जाम छ । आज हजुरको हायातको मिटीङमा समयमा पुग्न सकिन्न की !  

Tuesday, February 8, 2011

झस्काइदिन्छ

उस्तै आकृतिले झस्काइदिन्छ सधैं ।
उस्तै लवज प्रकृतीले चस्काइदिन्छ सधैं ।
विना कुनै चाल, तिम्रो आहटले सम्हालिन्छु म ।
विर्सने कोसिसले झन प्रगाढ बनाइदिन्छ सधैं ।

समिपलाई वेवास्ता गर्दा दुरीले बल्झाउदो रैछ ।
भुलाउने गर्छु मनलाई अतितले अल्झाउदो रैछ सधैं ।
विगतलाई बर्तमान बनाउने प्रयास होइन मेरो ।
शुन्यतामा पनि उनको मुस्कानले सताउदो रैछ सधैं ।

Thursday, September 9, 2010

कुण्ठा र मानविय ब्यावहार


वेदराज पौडेल
पश्चिमा मुलुकमा मात्र होइन अहिले हाम्रो समाजमा पनि ब्यस्तता बढ्दै गएको छ । ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका मानिसहरुमा ब्यस्तता निकै बढेको छ । अहिलेको ब्यस्त जीवनमा समयको पछि दौडदा दौडदै मान्छेले आफ्ना कतिपय चाहनाहरुलाई बाध्यतावस भुलिरहेका छन् । चाहना हुदाहुदै पनि त्यो काम गर्न सक्दैन, कुनै बस्तु प्राप्त गर्न सक्दैन अनि कसैलाई समय दिन सक्दैन । दिनभरिको भागदौड र ब्यस्तता विच  धेरै सम्झौता गरिन्छन् । त्यहि सम्झौताले विस्तारै क्रुर र अब्यावहारिक बनाइरहेको हामीलाई पत्तै हुदैन । हामी चाडो रिसाउने र झर्कीन थाल्छौं । चिडचिडाउन थाल्छौं । तर किन यस्तो भइरहेको छ मलाई भन्ने बारेमा सोच्दैनौं । त्यहि रिसाहा र झर्कीने बानीले हामीलाई घर अफिस र सामाजबाट विस्तारै एक्लो पार्दै छ । ब्यस्तता र ब्यावहारिक कारणले पर सारिएका चाहनाबाट मानिस भित्र उत्पन्न हुने कुण्ठा र उस्को परिर्वतित ब्यावहारले आज मानिसलाई असामाजिक बनाउदै लगेको छ ।
    कुनै बस्तु वा चिजको चाहना भएपनि त्यसलाई स्वतन्त्रता पूर्वक प्राप्त गर्न वा उपयोग गर्न नसक्नु र त्यो इच्छा र चाहनालाई दबाएर राख्नु नै कुण्ठा हो । कुनै चिज प्राप्त गर्ने तिब्र इच्छा हुदाहुदै पनि प्राप्त भएन भने हामी चित्त बुझाउछौं । भैगो प्राप्त भएन न के भो र । अर्को पटक पाईएला । अथवा अन्य केही कुरा थपेर हामी तत्कालिन अवस्थाबाट चित्त बुझाउने अथवा उम्कने प्रयास गर्छौं । तर फ्याउरोले अंगुर नभेटेपछि अमिलो रहेछ भनेर चित्त बुझाए झै गर्छौं । तर हामी भित्र रहेको चाहना भने त्यतिकै मर्दैन त्यो कुण्ठाका रुपमा रहिरहन्छ । समय र परिवेश पाउना साथ त्यो कुण्ठा ब्यावहार उत्रन्छ । 
    कलेज पढ्ने छोरा अथवा छोरीको चाहेको कुरा तपाई नकिन्दिनोस । अनि उस्को ब्यावहारमा हेर्नोस । कलेज जाने बेलामा उस्को स्कूटर समयमा स्र्टार्ट भएन भने उस्ले हातले स्टेरिङमा हिर्काउछ या त लात्तीले नै हान्छ । पालेले हर्न बजाउने वित्तीकै गेट खोलेन भने पनि उ माथि सारा रिस पोखिदिन्छ । उ रिसाएको देखेर उस्लाई चिन्ने नजिकका ब्यक्तीहरुपनि उस्को ब्यावहारले छक्क पर्छन । घरमा श्रीमति संगको खटपट अथवा कुनै सुल्झन नसकेको विषय छ भने त्यो कार्यालयको कम्प्यूटरलाई पनि कतिले पोख्छन् । कम्प्यूटर किन ढिला खुलेको भनेर किवोर्ड बजार्छन् ।
    स्कूलमा विद्यार्थीले होमवर्क गरेको भएपनि कपि दोव्रिएको अथाव कपि मिलाएर नदिएको झोंक विद्यार्थीमाथि फेर्छन मिस म्याडमले । उनीहरुको त्यो आक्रोश तत्काल श्रृजना भएको नभई ब्वायफ्रेण्ड अथवा श्रीमान संगको  खटपट अथवा कुनै कुण्ठाको कारण त्यहा पोखिएको मात्र हो ।
    कुण्ठा भन्ने वित्तिकै हामी यौन कुण्ठालाई मात्र बुझ्छौं । तर कुण्ठा सबै कुरासंग जोडिएर आउछ । हाम्रो समाज सेक्सको सवालमा पश्चिमा समाज जति खुला छैन त्यहि भएर पनि हामी विच यौन कुण्ठा भएकाहरु बढी भेटिन्छन् ।  कुण्ठा चाहनासंग जोडिएको हुन्छ । रजनिश ओशोले प्राकृतिक कुरालाई रोक्नु वा अवरोध पुर्‍याउनुलाई कुण्ठा भनेका छन् । उनले झरनाको उदाहरण दिदै भनेका छन झरनाको प्रकृती नै माथिबाट तल र्झनु हो । यदि त्यसलाई रोक्ने हो भने केही समय त रोकिएला तर लामो समय रोकीने छैन । मूल प्रवाहबाट नबगेपनि झरना धेरै तिरबाट बग्न थाल्छ । किनकी झरनाको प्रकृती नै र्झनु हो त्यो रोकीदैन । एक ठाउँबाट रोकीएपनि दशठाउँबाट झरि रहन्छ ।
    तपाईको चाहना झरना हो । त्यसलाई रोक्नु भयो भने कुण्ठाको रुपमा त्यो दश ठाउँबाट र्झछ । अथवा तपाईको चाहना पुरा नभएको तपाई भित्रको कुण्ठा रिस र आवेश र चिडचिडाहटको रुपमा विभिन्न ठाउँमा प्रकट भइरहेको हुन्छ । चाहे त्यो संगै बसको सिटमा बसेको मानिससंग, तरकारी पसलेसंग, गेट पालेसंग, कार्यालयको पियनसंग जो सुकै संग पनि तपाईको कुण्ठा रिसको माध्यमबाट प्रकट भइरहन्छ । त्यसैले चाहनालाई रोक्ने भन्दा पनि प्राप्त गर्ने प्रयास गर्नु पर्दछ । चाहनालाई स्वच्छन्द रुपमा उपयोग गर्नु पर्छ । एउटा चाहना दबाउदा तपाई भित्र दशौं कुण्ठाहरु उत्पन्न हुन्छन् । ती दशौं कुण्ठाहरु विभिन्न रुपमा प्रकट हुदा समाज, कार्यालय अथवा परिवारमा तपाईको ब्याबहारले तपाई प्रति नकारात्मक दृष्टिकोण पैदा गर्छ । जुन कालान्तरमा तपाईका लागि निकै घातक सिद्ध हुन्छ ।
    सिग्मन्ड फ्रायाड आफ्नी पत्नी र बच्चाको साथमा भियनाको एक पार्कमा घुम्न गएका थिए । साँझ घर र्फकने बेलामा छोरा नदेखेपछि फ्रायाड पत्नी आत्तीइन । संगै रहेको छोरा एकाएक गायब भएपछि श्रीमति अत्तालिइन । फ्रायाडले पत्नीलाई सोधे'तिमीले यो पार्कमा उस्लाई कुनै ठाउँमा नजानु भनेकी थियौं ।' पत्नीले भनिन मैले उस्लाई पानीको फोहोरा भएको ठाउँमा नजानु भनेकी थिए । फ्रायाडले भने उसो भए उ ९९ प्रतिशत त्यहि फोहोरामा भेटिन्छ । उनीहरु फोहोरा भएको ठाउँमा गए छोरा त्यहि भेटियो । यदि उस्को फोहोरा हेर्ने चाहनालाई त्यहि रोकी दिएको भए अथवा उस्लाई हेर्नै नदिएको भए उभित्रको कुण्ठा आवेसको रुपमा प्रकट हुन्थ्यो । फ्रायाड पत्नीले उस्लाई फोहोरामा जान नदिएर कुनै खेलौना किनिदिएको भए उस्लो त्यो आवेशमा फ्याकीदिनसक्थ्यो अथवा फुर्टाईदिन्थ्यो । किनकी बच्चा भित्रको कुण्ठा तत्काल प्रकट हुने गर्छ ।  जनु कुरालाई निषेध गरिन्छ त्यसप्रति मान्छेको तिब्र आकर्षण हुन्छ । त्यसैले नजानु भनेको ठाउ“मा फ्रायाड पुत्र गएको हो । निषेधले आकर्षा संगसंगै विकृती समेत पैदा गर्छ । कुण्ठालाई उपचार्रगर्नु भन्दा कुण्ठा हुनसक्ने सम्भावनालाई नै बन्द गर्नु पर्छ । अथवा तपाई चाहनालाई मूर्त रुप दिने प्रयास गर्नोस । आफ्नो विचार खुला रुपमा प्रकट गर्नोस  गुम्साएर नराख्नोस । इच्छा र चाहनालाई तत्कालै नभएपनि केही समयपछि पुरा गरिहाल्नोस । मनलाई सन्तुष्ट पार्न योग गर्नोस । 
                   

Saturday, July 24, 2010

एक्लै समशानमा

कात्रोमा बेरिएर आफ्नै चितामा पल्टिएर आकास ताकिरहेको मान्छे ।
फगत समशानमा एक्लै छ, चिता सल्काउने चिन्तामा मौन छ उ ।

कसरी सल्किन्छ चिता ? सपनाहरु अवसान भएको बेला,
सम्बन्धका त्यान्द्राहरु चुडिएको बेला ।

थाहा छैन कस्को प्रतिक्षामा छ उ । फगत एक्लै चिता सल्किदैन ।
आफ्नै पार्थिव शरिर बोकेर, एक्लै मलामी गएको उ ।

चिता सल्काउने साइनोको खोजी गर्दैछ मनमा ।
आफ्नो भूल विना नै चुडिएका सम्बन्धहरुलाई केलाउछ ।

देवालयमा गरिएका भाकल र बाचाहरु विचको सत्यता जोख्छ ।
अंगालेर पीठमा छुरा घोप्नेहरु, फाईदाको पसल थापेर सम्बन्ध जोड्नेहरु ।
अनि पाईला सारेपछि अखेटा विर्षनेहरुको विचमा केबल एक्लै छ उ ।

समशानमा चिता सल्काउनेको खोजीमा कात्रो भित्र नै बर्रबराउछ उ ।
फगत एक्लै एक्लै अनि एक्लै ................

Tuesday, June 15, 2010

क्यान जस्तो जिन्दगी


एउटा क्यान जस्तै जिन्दगी
रित्तिए पछि मिल्काईने
एक जोडी अधरहरुको र्स्पर्शमा भाग्यमानी ठान्छ आफुलाई
अतृप्त प्यास बुझेपछि मिल्कीन्छु भन्ने हेक्का छैन । 
कहिले कसको गोडामा पर्छ
कहिले कसको लात्ती सहन्छ

ठुलो कारखानाबाट प्यास बुझाउने क्षमता बोकेर आएको उ ।
सवारी, डिपार्टमेन्ट हुदै घर, होटल र रेष्टुरामा सजिएर ।
कोमल हातहरुको र्स्पर्शमा रमाएको त्यो क्षण
केबल सम्झानामा मात्र छ मिठो अतित

अस्तित्व बचाउन हरदम प्रयास गरिरहन्छ ।
सडक किनारामा मिल्काईएको क्यान
फगत मुकदर्शक बनेको छ
हजार माईल यात्रा गर्ने सवारी कुल्चीएर अघि बढ्छन ।
अस्तित्वको झिनो आश लिएर,
मिल्कीएको छ विचारा क्यान ।
घाम पानी र हावाहुरी संग पौठा जोरी गर्दै,
अस्तित्व पाउँने झिनो आशमा
कसैको ब्यग्र प्रतिक्षामा छ,

एक बिहानी उषाको लाली संगै
अस्तित्वको पर्खाईमा थियो उ,
तर अफसोच ! एक हुल मानिसहरु आए
झाडु अनी कुचोले बडारेर
सड्कबाट उठाएर फोहोरको रासमा फ्यालीदिए उसलाई
बिचरा त्यो क्यान,
थाहा छैन कुन रिसाइक्लिन कम्पनीमा पुग्ने हो अथवा
डम्पीङ्ग साइडमा सदाका लागि बिर्सजित हुने हो
बिचरा त्यो क्यान ।
                                                     वेदराज पौडेल
                                                     विराटनगर