वेदराज पौडेल
पश्चिमा मुलुकमा मात्र होइन अहिले हाम्रो समाजमा पनि ब्यस्तता बढ्दै गएको छ । ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका मानिसहरुमा ब्यस्तता निकै बढेको छ । अहिलेको ब्यस्त जीवनमा समयको पछि दौडदा दौडदै मान्छेले आफ्ना कतिपय चाहनाहरुलाई बाध्यतावस भुलिरहेका छन् । चाहना हुदाहुदै पनि त्यो काम गर्न सक्दैन, कुनै बस्तु प्राप्त गर्न सक्दैन अनि कसैलाई समय दिन सक्दैन । दिनभरिको भागदौड र ब्यस्तता विच धेरै सम्झौता गरिन्छन् । त्यहि सम्झौताले विस्तारै क्रुर र अब्यावहारिक बनाइरहेको हामीलाई पत्तै हुदैन । हामी चाडो रिसाउने र झर्कीन थाल्छौं । चिडचिडाउन थाल्छौं । तर किन यस्तो भइरहेको छ मलाई भन्ने बारेमा सोच्दैनौं । त्यहि रिसाहा र झर्कीने बानीले हामीलाई घर अफिस र सामाजबाट विस्तारै एक्लो पार्दै छ । ब्यस्तता र ब्यावहारिक कारणले पर सारिएका चाहनाबाट मानिस भित्र उत्पन्न हुने कुण्ठा र उस्को परिर्वतित ब्यावहारले आज मानिसलाई असामाजिक बनाउदै लगेको छ ।
कुनै बस्तु वा चिजको चाहना भएपनि त्यसलाई स्वतन्त्रता पूर्वक प्राप्त गर्न वा उपयोग गर्न नसक्नु र त्यो इच्छा र चाहनालाई दबाएर राख्नु नै कुण्ठा हो । कुनै चिज प्राप्त गर्ने तिब्र इच्छा हुदाहुदै पनि प्राप्त भएन भने हामी चित्त बुझाउछौं । भैगो प्राप्त भएन न के भो र । अर्को पटक पाईएला । अथवा अन्य केही कुरा थपेर हामी तत्कालिन अवस्थाबाट चित्त बुझाउने अथवा उम्कने प्रयास गर्छौं । तर फ्याउरोले अंगुर नभेटेपछि अमिलो रहेछ भनेर चित्त बुझाए झै गर्छौं । तर हामी भित्र रहेको चाहना भने त्यतिकै मर्दैन त्यो कुण्ठाका रुपमा रहिरहन्छ । समय र परिवेश पाउना साथ त्यो कुण्ठा ब्यावहार उत्रन्छ ।
कलेज पढ्ने छोरा अथवा छोरीको चाहेको कुरा तपाई नकिन्दिनोस । अनि उस्को ब्यावहारमा हेर्नोस । कलेज जाने बेलामा उस्को स्कूटर समयमा स्र्टार्ट भएन भने उस्ले हातले स्टेरिङमा हिर्काउछ या त लात्तीले नै हान्छ । पालेले हर्न बजाउने वित्तीकै गेट खोलेन भने पनि उ माथि सारा रिस पोखिदिन्छ । उ रिसाएको देखेर उस्लाई चिन्ने नजिकका ब्यक्तीहरुपनि उस्को ब्यावहारले छक्क पर्छन । घरमा श्रीमति संगको खटपट अथवा कुनै सुल्झन नसकेको विषय छ भने त्यो कार्यालयको कम्प्यूटरलाई पनि कतिले पोख्छन् । कम्प्यूटर किन ढिला खुलेको भनेर किवोर्ड बजार्छन् ।
स्कूलमा विद्यार्थीले होमवर्क गरेको भएपनि कपि दोव्रिएको अथाव कपि मिलाएर नदिएको झोंक विद्यार्थीमाथि फेर्छन मिस म्याडमले । उनीहरुको त्यो आक्रोश तत्काल श्रृजना भएको नभई ब्वायफ्रेण्ड अथवा श्रीमान संगको खटपट अथवा कुनै कुण्ठाको कारण त्यहा पोखिएको मात्र हो ।
कुण्ठा भन्ने वित्तिकै हामी यौन कुण्ठालाई मात्र बुझ्छौं । तर कुण्ठा सबै कुरासंग जोडिएर आउछ । हाम्रो समाज सेक्सको सवालमा पश्चिमा समाज जति खुला छैन त्यहि भएर पनि हामी विच यौन कुण्ठा भएकाहरु बढी भेटिन्छन् । कुण्ठा चाहनासंग जोडिएको हुन्छ । रजनिश ओशोले प्राकृतिक कुरालाई रोक्नु वा अवरोध पुर्याउनुलाई कुण्ठा भनेका छन् । उनले झरनाको उदाहरण दिदै भनेका छन झरनाको प्रकृती नै माथिबाट तल र्झनु हो । यदि त्यसलाई रोक्ने हो भने केही समय त रोकिएला तर लामो समय रोकीने छैन । मूल प्रवाहबाट नबगेपनि झरना धेरै तिरबाट बग्न थाल्छ । किनकी झरनाको प्रकृती नै र्झनु हो त्यो रोकीदैन । एक ठाउँबाट रोकीएपनि दशठाउँबाट झरि रहन्छ ।
तपाईको चाहना झरना हो । त्यसलाई रोक्नु भयो भने कुण्ठाको रुपमा त्यो दश ठाउँबाट र्झछ । अथवा तपाईको चाहना पुरा नभएको तपाई भित्रको कुण्ठा रिस र आवेश र चिडचिडाहटको रुपमा विभिन्न ठाउँमा प्रकट भइरहेको हुन्छ । चाहे त्यो संगै बसको सिटमा बसेको मानिससंग, तरकारी पसलेसंग, गेट पालेसंग, कार्यालयको पियनसंग जो सुकै संग पनि तपाईको कुण्ठा रिसको माध्यमबाट प्रकट भइरहन्छ । त्यसैले चाहनालाई रोक्ने भन्दा पनि प्राप्त गर्ने प्रयास गर्नु पर्दछ । चाहनालाई स्वच्छन्द रुपमा उपयोग गर्नु पर्छ । एउटा चाहना दबाउदा तपाई भित्र दशौं कुण्ठाहरु उत्पन्न हुन्छन् । ती दशौं कुण्ठाहरु विभिन्न रुपमा प्रकट हुदा समाज, कार्यालय अथवा परिवारमा तपाईको ब्याबहारले तपाई प्रति नकारात्मक दृष्टिकोण पैदा गर्छ । जुन कालान्तरमा तपाईका लागि निकै घातक सिद्ध हुन्छ ।
सिग्मन्ड फ्रायाड आफ्नी पत्नी र बच्चाको साथमा भियनाको एक पार्कमा घुम्न गएका थिए । साँझ घर र्फकने बेलामा छोरा नदेखेपछि फ्रायाड पत्नी आत्तीइन । संगै रहेको छोरा एकाएक गायब भएपछि श्रीमति अत्तालिइन । फ्रायाडले पत्नीलाई सोधे'तिमीले यो पार्कमा उस्लाई कुनै ठाउँमा नजानु भनेकी थियौं ।' पत्नीले भनिन मैले उस्लाई पानीको फोहोरा भएको ठाउँमा नजानु भनेकी थिए । फ्रायाडले भने उसो भए उ ९९ प्रतिशत त्यहि फोहोरामा भेटिन्छ । उनीहरु फोहोरा भएको ठाउँमा गए छोरा त्यहि भेटियो । यदि उस्को फोहोरा हेर्ने चाहनालाई त्यहि रोकी दिएको भए अथवा उस्लाई हेर्नै नदिएको भए उभित्रको कुण्ठा आवेसको रुपमा प्रकट हुन्थ्यो । फ्रायाड पत्नीले उस्लाई फोहोरामा जान नदिएर कुनै खेलौना किनिदिएको भए उस्लो त्यो आवेशमा फ्याकीदिनसक्थ्यो अथवा फुर्टाईदिन्थ्यो । किनकी बच्चा भित्रको कुण्ठा तत्काल प्रकट हुने गर्छ । जनु कुरालाई निषेध गरिन्छ त्यसप्रति मान्छेको तिब्र आकर्षण हुन्छ । त्यसैले नजानु भनेको ठाउ“मा फ्रायाड पुत्र गएको हो । निषेधले आकर्षा संगसंगै विकृती समेत पैदा गर्छ । कुण्ठालाई उपचार्रगर्नु भन्दा कुण्ठा हुनसक्ने सम्भावनालाई नै बन्द गर्नु पर्छ । अथवा तपाई चाहनालाई मूर्त रुप दिने प्रयास गर्नोस । आफ्नो विचार खुला रुपमा प्रकट गर्नोस गुम्साएर नराख्नोस । इच्छा र चाहनालाई तत्कालै नभएपनि केही समयपछि पुरा गरिहाल्नोस । मनलाई सन्तुष्ट पार्न योग गर्नोस ।