Friday, August 3, 2012

लघुकथा : केन्द्रियता


लघुकथा : केन्द्रियता
'अरे विवेक तिमी -' पानीको बोतल दिदै गरेकी साहुनीको संवादले म झस्कीए । मैले उनको मुहारमा परिचित रेखाहरु नियाल्न थाले । अनायसै मुखबाट निस्कीयो 'सुनि तिमी' करिब १० बर्षपछि भेटीएको एउटा परिचित साथी । मानसपटलमा विगतका दृष्यहरु नाच्न थाले । म ठिङ्ग मुग्लिनको एउटा पसलमा अघि गाडीएको पोल झै खडाछु । 
'अनि तिमी यहाँ पसलमा....' उस्ले विचमै भनि 'यो पसल हाम्रै हो, यहि तल घर छ । उहा बिजनेस गर्नुहुन्छ ।' मेरो मुहारमा उब्जेका धेरै प्रश्नवाचक चिन्हहरुको जवाफ उस्लै एकै पटक दिन सम्भव थिएन । अलि गाह्रो माने जस्तो गरेपछि अरु धेरै सोधखोज गरिन । पोखराबाट राजधानी हिडेको र  हायात होटलमा एउटा रात्री मिटिङमा सहभागि हुनु पर्ने उनलाई सुनाए । उनको नम्बर लिएर फोन गर्ने बाचा सहित म गाडी चढे ।
जिल्ला अधिवेशनको रन्को । पार्टीका जिल्ला नेतादेखी केन्द्रिय तहका नेताहरुसम्मको चासो मोरङमा केन्द्रित थियो । उपाध्यक्षबाट अध्यक्षको पदको दावेदार म । तर माउ पार्टीका जिल्लाका केही नेताहरु सुनिलाई अध्यक्षको उम्मेदवार बनाउने पक्षमा देखिए । मैले सुनिलाई सचिवमा रहेर काम गरेको मान्छे एक पटक उपाध्यक्ष चलाउ भनेको पनि थिए ।
    मेरो साथीहरु पनि मेरो पक्षमा राम्रै लवि गरिरहेका थिए । अधिवेशन सुरु हुन एक घण्टा बाकी थियो । राजनीतिमा पहिले आफू अनि अरुथोक भन्ने मूल मन्त्रलाई मनन गर्दै म बन्दसत्रका प्रमुख अतिथि बसेको होटलमा केही ऐजेण्डाका बारेमा छलफल गर्न पुगे । ११२ नम्बर कोठामा गएर मैले खोल्ने संकेत गरे तर ढोका खुलेन । चाविको प्वालबाट मैले भित्र चिहाए । एउटा ब्राउन कलरको लेडीज ब्याग तल झरेर सामान बाहिर निस्कीएको अवस्थामा थियो । ब्यागबाट पिंक कलरको लिपिष्टिक सोफा तल झरेको थियो । त्यो भन्दा परतिरका दृष्य ठम्याउन सकिएनन् ।
बन्दसत्र सुरु भयो । प्रमुख अतिथिले भातृ संगठनलाई सशक्त बनाउने र गुट उपगुटको अन्त्य गर्ने घोषणा गरे । केही बेरपछि माउ पार्टीले जनवादी केन्द्रियतालागु गर्दै जिल्ला कमीटीको नयाँ कार्य समितिको नाम घोषणा गर्‍यो । म हलबाट बाहिरिए । कलिलै उमेरमा अध्यक्ष जस्तो गरिमामय पदमा पुगेकोमा साथीहरुले घेराहालेर सुनिलाई बधाई दिदै थिए । पिंक कलरको लिपिस्टिक पोतिएका उस्का ओठहरुले साथीहरुलाई हार्दिकता प्रकट गरिरहेका थिए । उस्ले घरिघरि ब्राउन कलरको आफ्नो ब्यागलाई काँधमा सम्हादै थिई ।
गुडीरहेको गाडीको एक्कासी लागेको ब्रेकले म झस्कीए । ड्राइभरले भन्यो सर नाकढुंगामा जाम छ । आज हजुरको हायातको मिटीङमा समयमा पुग्न सकिन्न की !  

No comments:

Post a Comment